थारू समुदायका परिकार पाइने रेस्टुराँहरू खुल्ने क्रम सुरु नहुँदासम्म ढिक्री सोही समुदायका चाडपर्वको विशेष परिकार मात्र थियो । समय फेरिएको छ, थारू समुदायको बसोवास रहेका गाउँबाट यो परिकार नेपालगन्ज, काठमाडौंलगायत सहरसम्म पुगेको छ । पश्चिम तराईका जिल्लामा खुलेका होमस्टेहरूले पनि पाहुनालाई ढिक्रीको स्वाद पस्किने गरेका छन् ।

थारूबाहुल्य क्षेत्रमा हुने कार्यक्रममा आएका पाहुनालाई पनि ढिक्रीका परिकारले स्वागत गर्ने चलन छ । विभिन्न कार्यक्रम, समारोह, मेला र महोत्सवमा ढिक्रीको परिकार बिक्री हुन थालेको छ । ‘विगतमा यो चाडपर्वको परिकार र देवीदेवतालाई चढाउने प्रसादमा सीमित थियो,’ थारू अगुवा वीरबल चौधरी भन्छन्, ‘अहिले सम्भ्रान्त वर्ग र देशी–विदेशी पाहुनालाई स्वागत गर्ने परिकार बनेको छ ।’

हस्तकला व्यवसायी निरु चौधरीका अनुसार होमस्टे, मेला र महोत्सवहरूमा बिक्री हुने ढिक्रीबाट राम्रो आम्दानी हुन थालेको छ । ‘मेला, महोत्सवमा एकै दिनमा पाँच हजार रुपैयाँसम्मको ढिक्री बिक्री हुने गरेको छ,’ उनी भन्छिन् ।

चामलको पीठोबाट बनाइने परिकार हो, ढिक्री । थारू बस्तीमा यो गहुँ, जौ र मकैको पीठोबाट पनि बनाइन्छ । गोलो, लाम्चो, चुच्चे, तीनकुने आकारमा ढिक्री बनाइन्छ । खासगरी, गोलो र लाम्चो ढिक्री नै बढी प्रयोगमा छ । थारू समाजमा ढिक्रीको विशेष महत्व छ । यो घरका कुलदेवता र गाउँका भुइँह्यार देवतालाई चढाएर प्रसादका रूपमा खाने गरिन्छ ।

थारू समुदायको बसोवास रहेका गाउँबाट ढिक्री नेपालगन्ज, काठमाडौंलगायत सहरसम्म पुगेको छ । पश्चिम तराईका जिल्लामा खुलेका होमस्टेहरूले पनि पाहुनालाई ढिक्रीको स्वाद पस्किने गरेका छन् ।

देवतालाई भने चामलको ढिक्री चढाउने चलन रहेको थारू संस्कृतिका अन्वेषक अशोक थारू बताउँछन् । खासगरी, दसैँ, तिहारलगायत चाडपर्वमा थारू समुदायका घर–घरमा यो परिकार पाक्छ । दसैँमा ब्वाझा, पौवा, लट्ठी, छिट्वा, चुल्हाजस्ता ढिक्री तयार गरी देवी–देवतालाई चढाइन्छ ।

ढिक्री बनाउन पीठोलाई राम्रोसँग मुछ्नुपर्छ । तर, पीठो धेरै चिल्लो हुनुहुँदैन । त्यसैले मिलमा पिसेकोभन्दा जाँतोमा पिँधेको वा ढिकीमा कुटेको पीठो प्रयोग गरिन्छ । थाल वा सुपोमा राखेर ढिक्री बनाइन्छ । त्यसरी तयार पारिएको ढिक्रीलाई पानीको बाफले उसिनिन्छ । मुज र खरबाट ढिक्री उसिन्ने वस्तु बनाइन्छ । उसिन्ने वेला ढिक्री राख्ने भाँडोलाई पैन र माथिबाट ढाक्ने वस्तुलाई अस्टोपी भनिन्छ । ढिक्रीलाई मःम उसिनेजस्तै उसिनिन्छ ।

डेक्चीमा पानी राखेर त्यसको माथि पैन र पैनको माथि अस्टोपी राखिन्छ । पैनको मुनि पानीको बाफ निस्कने प्वाल बनाइएको हुन्छ । प्वालबाट ढिक्री नछिरोस् भनेर पिँधमा काठ राखेर अड्याइन्छ । ‘पैनमा ढिक्री राखेर माथिबाट बाफ रोक्न अस्टोपी राखिन्छ,’ थारू संस्कृतिका जानकार एकराज चौधरी भन्छन् । ढिक्रीमा नुन, तेल र मसला केही मिसाइँदैन । त्यसैले स्वास्थ्यका लागि यो फाइदाजनक भएको थारू समुदायका अगुवा साधुराम चौधरी बताउँछन् । पछिल्लो समय ढिक्रीलाई स्वादिलो बनाउन नरिवलको धुलो पनि राख्न थालिएको खबर नया पत्रिकामा रहेको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here