सूर्यनारायण चौधरी                                                          कोशी हेल्थ विराटनगर । (प्रध्यापक जनस्वास्थ्य संकाय)

मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन ।

भागेर जाउँ कुन ठाउँ जाउँ,मान्छे नमर्ने शहर हुँदैन ।

वास्तवमा यो गीत अहिले समय सापेक्ष भएको छ । थाहा छैन यो गीत कुन सन्दर्भमा लेखिएको हो तर अहिलेको सन्दर्भमा निकै मिल्दो जुल्दो रहेको हामी पाउँछौं ।

शहर होइन अहिले विश्वनै चिन्तित रहेको छ । चीनबाट शुरुभएको नोवल कोरोना भाइरस विश्वको २०३ वटा देशमा फैलिसकेको विधिवतै छ । हाल यु.एस.ए.मा सबैभन्दा बढी विरामीको संख्या र इटालीमा सबैभन्दा बढी ज्यान गुमाउनेको संख्या रहेको छ (वल्डोमिटरस,२०७६,चैत्र १९) । अमेरीकाको राष्ट्रपती डोनाल्ड ट्रम्पले भनेका छन् कि “यदि मृतकको संख्या १ लाखको हाराहारीमै रोकिए भने त्यो उपलव्धी नै मानिने छ ।” (दिनेशजङ्ग इ कान्तिपुर,चैत्र १८)

करिव ७०० वर्ष अगाडि प्लेग रोग माहामारीको रुपमा देखापरेको थियो जसको कारणले विश्व तहसनहस भएको थियो ।  यो रोग चीनमा १३औं शताब्दीमा देखापरेको थियो । सिल्क रोड हुँदै विश्वको विभिन्न देशमा पुगेको थियो । “सिल्क रोड” भन्नाले ती व्यापारिक बाटोलाई वुझाउँछ जसले विश्वको पूर्वी,पश्चिमी र मध्ये देशहरुलाई जोड्ने काम गर्दछ । यो रोगले गर्दा युरोपको ३० देखि ६०प्रतिशत व्यक्तिको मृत्यू भयो । विश्वको जनसंख्याको करिव ३५० मिलियन जती मृत्यू भएको थियो भने १७औं शताब्दी सम्म आउँदा इटालीको मात्र १.७ मिलियन जनसंख्या प्रभावित थिए ।

प्लेगको माहामारीलाई कम गर्नकोलागि ७०० वर्ष अगाडि नै यो व्याक्टेरिया वा भाइरस केले गर्दा हुन्छ भन्ने कुरा थाहा नहुँदै १३४८ मा सामाजिक दुरी बनाउने, सतहलाई जिवानुरहित बनाउन विषादी छर्किने, रोग सार्ने तत्वहरु नछुने,रोगी व्यक्तिहरुको नजिक नजाने जस्ता कार्यहरु शुरुवात भयो ।

१४औं शताब्दीमा प्लेग माहामारीबाट बच्न भेनिस शहरमा आउने शंकास्पद व्यक्तिलाई ४० दिन सम्म  एनचोरमा बस्न लगाइन्थ्यो जसलाई क्वारेन्टाइन भनिन्थ्यो । क्वारेन्टाइन शब्द इटालियन शब्द “क्वारन्टा गोर्मी”बाट आएको हो । क्वारेन्टाइन भन्नाले शंकास्पद तर स्वस्थ व्यक्तिलाई रोगी व्यक्तिहरुबाट छुट्याउने हो, जसमा रोगको लक्षण देखापरिसकेको हुँदैन । आइसोलेसन भन्नाले विरामी व्यक्तिहरुलाई स्वस्थ्य व्यक्तिबाट अलग्याएर राख्ने कार्य हो । १४औं शताब्दीमै प्लेगबाट बच्नकोलागि ४० दिनको क्वारेन्टाइन इटालीबाट शुरु भयो जुन ३०० वर्षसम्म युरोपको लागि निकै फलदायी भयो । इटालीले शुरु गरेको ४० दिने क्वारेन्टाइन इंग्ल्यान्डले २००वर्षसम्म लागु गरेको थिएन तर प्लेग नियन्त्रण्को लागि २०० वर्षपछि ४०दिने क्वारेन्टाइनको शुरुवात गरियो । फ्रान्सले माहामारीको क्षेत्रबाट आएको व्यक्तिलाई शहर प्रवेशमा रोक लगायो र पछि नियन्त्रण हुँदैगएपछि प्रभावित मुलुकबाट आउँदा अनिवार्यरुपमा रोग नलागेको प्रमाणपत्र ल्याउनुपर्ने नियम लगाए ।

हामीले अतितलाई फर्केर हेर्दा एन्टोनी भान लियोनहुक ले १६६७ मा व्याक्टिेरिया पत्ता लगाए । इडर्वाड जेनरले १७९६ मा स्मल पक्सको खोप पत्ता लगाए । इग्न्याज सेमेलविसले १८४७ मा ह्यान्ड वासिङ्ग शुरु गरे । १८९७ मा पाउल वर्गरले सर्जिकल माक्स लगाउन शुरु गरेको पाउँछौं । माक्स लगाउने काम अहिले विभिन्न प्रयोजनको लागि प्रयोग गरिदैछ । यिनै ऐतिहासिक र वैज्ञानिक तथ्यहरु हेर्दा माहामारीलाई हामी जित्दै आएको छौं । तर अहिले नोवल कोरोना भाइरसबाट विश्वव्यापी रुपमा फैलिरहेको माहामारीलाई नियन्त्रण गर्न ठुलो चुनौती रहेकोछ । संयोग नै मान्नुपर्छ, चीनबाट शुरु भएको प्लेगले विश्वलाई नै तहसनहस बनायो त्यसरी नै अहिले चीनबाट शुरुभएको नोवल करोना भाइरसले विश्वलाई भयभित बनाएको छ ।

इटालीको रोममा जनस्वास्थ्यको विकास भएको हो । विकासका धेरै मापनहरु हुन्छन् । अन्य विभिन्न क्षेत्रमा हामी विकसित भयौं तर १४औं शताब्दीदेखि शुरुभएका गतिवीधिहरुलाई वैज्ञानिक तरिकाले अपनाउन सकेका छैनौं । विकसित राष्ट्रपनि विचलित अवस्थामा रहेको देखिन्छ । लाग्छ, इतिहास दोहोरिएको जस्तो तर त्योवेलाको जस्तो क्षती भएजस्तो अहिले नहोस ।

कोरोना भाइरसबाट हुने यो माहामारी नियन्त्रणको लागि इतिहासबाट पाठ सिक्दै, विश्व स्वास्थ्य संगठनका मापदण्डहरु अपनाउदै, नेपाल सरकारले तोकेका कार्यहरु वैज्ञानिक तवरले गर्नु नै अहिलेको उपलब्धी हुनेछ । क्वारेन्टाइन,आइसोलेसनमा केवल घर र कोठा मात्र नभई त्यहाँ आवश्यक सुविधा,उपयुक्त स्वास्थ्य सामग्रीहरु,दक्ष चिकित्सक,नर्स तथा जनस्वास्थ्यकर्मी होस । माहामारी दोहोरिरहने हुनाले राज्य तथा आम नागरिकहरुले स्वास्थ्य प्रवद्र्धनका साथै रोगको रोकथाम, पूर्ण उपचारात्मक र माहामारी नियन्त्रणकालागि लागि तत्पर रहनुपर्ने आवश्यक्ता देखिन्छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here